प्युठान । प्युठानको नौबहिनी गाउँपालिकास्थित एक सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद गरेको छ।


जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वन क्षेत्रमा गस्तीका क्रममा पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा अवैध हतियार फेला परेको हो।
इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका हतियार कसले र किन वन क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। साथै, ती हतियार लुकाउने व्यक्तिहरुको खोजी कार्यसमेत तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।





