कालिकोट । शुभकालिका गाउँपालिकाका वडा नम्बर २ र ३ का बासिन्दाका लागि आजको २१ औँ शताब्दीमा पनि बिरामी पर्दा अस्पताल पुग्ने एकमात्र आधुनिक सवारी साधन बनेको छ— ‘मानव निर्मित डोको र डोली’।सेरीघाट–भर्ता–बडासाइन खण्ड करीब १६ देखि २० किलोमिटरको दूरी हो। तर, यो सडक किन अझै पिच हुन सकेन? स्थानीय बासिन्दा भन्छन यसको मुख्य कारण नेताहरूको चरम लापर्वाही, बजेटको दुरुपयोग र गैरजिम्मेवारीपन लाई मान्छन्।गाउँमा कुनै नागरिक आकस्मिक रूपमा बिरामी पर्दा, गर्भवती महिलालाई सुत्केरी व्यथाले समात्दा वा वृद्धवृद्धा अस्वस्थ हुँदा एम्बुलेन्स आउने सडक छैन। बदलामा गाउँका ४/५ जना हट्टाकट्टा युवाहरू जम्मा हुनुपर्छ, अनि बिरामीलाई डोको वा डोलीमा हालेर घण्टौँको जोखिमपूर्ण पैदल यात्रा गर्दै सदरमुकाम मान्म वा अन्य अस्पताल पुर्याउनुपर्छ। समयमै अस्पताल पुग्न नसकेर कतिले बाटोमै ज्यान गुमाउनुपरेको पीडा यहाँका बासिन्दाका लागि नयाँ होइन।गाउँमा चिल्ला गाडी र आधुनिक प्रविधिको गफ हाँक्ने नेताहरूलाई शुभकालिकाका जनताको एउटै प्रश्न छ— “सरिघाट-भर्ता १६ किलोमिटर बाटो पिच गर्न कति दशक कुर्नुपर्ने हो? हाम्रा बिरामीले कहिलेसम्म डोको र डोलीमै अकालमा ज्यान जोखिममा पार्नुपर्ने हो?”यदि समयमै यो सडक खण्डको स्तरोन्नति र कालोपत्र गरिएन भने आगामी दिनमा नेताहरू भोट माग्न आउँदा तिनै डोको र डोली अगाडि राखेर बहिष्कार गर्ने चेतावनी स्थानीय बासिन्दाले दिएका छन्। सरोकारवाला निकाय र जनप्रतिनिधिहरूको ध्यान यसतर्फ तत्काल जाओस्!







