काठमाडौँ — विगत आर्थिक वर्ष २०८१/८२ मा देशभर प्रेस स्वतन्त्रता हननका कुल ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले असार २०८१ देखि असार २०८२ सम्म गरिएको अनुगमनबाट यी तथ्यांक सार्वजनिक गरेको हो ।


प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालका अनुसार, सबैभन्दा बढी ४१ घटनामा पत्रकारलाई धम्की र दुर्व्यवहार गरिएको छ । त्यसैगरी २२ पटक आक्रमण वा कुटपिट भएका छन् भने १३ पटक पत्रकारहरूले पेसागत असुरक्षा भोग्नुपरेको छ । कब्जा र अवरोधका घटना ७, पक्राउ प्रयासका घटना पनि ७ देखिएका छन् । त्यस्तै, पत्रकारमाथि नीतिगत रुपमा २ पटक बन्देज लगाइएको र १ पत्रकारको हत्या तथा १ जातीय विभेदसम्बन्धी घटना समेत भएको प्रेस काउन्सिलले जनाएको छ ।
प्रदेशगत हिसाबले हेर्दा सबैभन्दा बढी ३८ घटना बाग्मती प्रदेशमा भएका छन् । मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशी प्रदेशमा समानरुपमा ८-८, कर्णालीमा ७, गण्डकीमा ४, लुम्बिनीमा ३ र देश बाहिर १ घटना भएका तथ्यांकहरू सार्वजनिक भएका छन् ।
लैङ्गिक हिसाबले पत्रकारहरूमा ९६ पुरुष र १० महिला पीडित भएका छन् । अनुगमनमा एउटा घटनामा एकभन्दा बढी पत्रकार पीडित हुन सक्ने भएकाले पीडितको संख्या घटनाभन्दा बढी देखिएको छ ।
यसै अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका ९ घटना पनि भएका छन् जसमा बाग्मती प्रदेशमा ४, मधेसमा ३ र कर्णालीमा २ घटना परेको काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिलले पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता सम्बन्धी अनुगमनलाई निरन्तरता दिएको छ ।






