बर्दिया — लागुऔषधविरुद्धको विशेष अभियान अन्तर्गत बर्दिया प्रहरीले जिल्लाको विभिन्न स्थानबाट चार जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका–११ गणेशपुर बाइपासमा गरिएको चेकजाँचका क्रममा ठाकुरबाबा नगरपालिका–४ का २१ वर्षीय अबिशेष चौधरी र सोही नगरपालिका–१ का २१ वर्षीय विशाल खत्रीलाई ४७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो।
यस्तै, गुलरिया नगरपालिका–७ महाकवि टोलस्थित बाइपास रोडमा गरिएको कारबाहीमा गुलरिया–६ बस्ने ३२ वर्षीय अजमेर अलि नाउलाई १८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, गुलरिया नगरपालिका–६ शान्तिटोलमा गरिएको कारबाहीमा सोही नगरपालिका–७ का ४० वर्षीय नुर महम्मद नाउलाई २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।





