काठमाडौं ।
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले दुई जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा पदोन्नत भएका अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरिएको हो।



नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ साउन ३० गतेको निर्णयअनुसार पदोन्नति भएका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापा प्रहरी उपरीक्षकमा र प्रहरी निरीक्षक राजु अधिकारी प्रहरी नायव उपरीक्षकमा पदोन्नति भएका थिए। उक्त निर्णय साउन २८ गतेबाट लागू भएको हो।
दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा आईजीपी थापाले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले पदसँगै थपिएको जिम्मेवारीलाई संगठनको हितमा कटिबद्ध भई सामूहिक भावनासहित निर्वाह गर्न निर्देशन पनि दिए।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य राख्दै प्रहरी उपरीक्षक थापाले संगठनप्रति निष्ठावान रहि कर्तव्य पालनामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकारीहरूको उपस्थिति थियो।





