काठमाडौं । चीन र भारतबीच हालै भएको लिपुलेक पास हुँदै सीमापार व्यापार गर्ने सहमतिको विषयमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले कडा आपत्ति जनाएको छ ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त सम्झौता नेपालको सार्वभौमिकतामाथिको प्रत्यक्ष हस्तक्षेप भएको दाबी गरेका छन् ।


“चीनियाँ विदेशमन्त्री वाङ यीको भाद्र १–२ मा भएको भारत भ्रमणका क्रममा लिपुलेक पास हुँदै व्यापार खोल्ने सहमति गर्नु नेपाली भूमिमाथिको नांगो हस्तक्षेप हो,” विज्ञप्तिमा भनिएको छ ।
बास्तोलाले नेपाललाई सूचनासमेत नदिई भारत र चीनले नेपालको भू–भाग प्रयोग गरेर व्यापार गर्ने सहमति गरेकोप्रति घोर आपत्ति जनाएका छन् । उनले २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणकै क्रममा यस्तै सहमति भएको तर नेपाली जनताको विरोधका कारण त्यसबेला स्थगित भएको स्मरण पनि गराए ।
नेकपा (बहुमत)ले भारत र चीनलाई तत्काल सम्झौता फिर्ता लिन र नेपालप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेको छ । साथै, पार्टीले सरकारलाई नेपालको सार्वभौमिकताको सवाललाई अन्तर्राष्ट्रियकरण गर्न पनि माग गरेको छ ।






