भदौ ९, काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ।


सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि दर्ता र नवीकरण प्रक्रिया अवरुद्ध पारेर पत्रकार र सञ्चार क्षेत्रलाई समस्यामा पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो।
विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार भदौ ११ गते मन्त्रालयलाई ज्ञापनपत्र बुझाइने र भदौ १३ गतेदेखि सूचना तथा प्रसारण विभागमा कालो व्यानर राखेर धर्ना सुरु गर्ने निर्णय भएको छ।
सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधन गरेपछि साउन २० गतेदेखि दर्ता र नवीकरणको काम रोकिएको हो। महासंघले यसलाई नागरिकको संवैधानिक हक हनन भएको बताएको छ।
नवीकरण रोकिँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरण गर्न नपाएको र विज्ञापन कारोबार समेत प्रभावित भएको महासंघको भनाइ छ।
बैठकमा महासंघकी अध्यक्ष निर्मला शर्माले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न सरकारलाई आग्रह गरिन्। उपाध्यक्ष उमिदप्रसाद बागचन्दले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण गर्ने प्रयास गरिरहेको टिप्पणी गरे।
त्यसैगरी महासचिव रामप्रसाद दाहालले दर्ता र नवीकरण रोक्नु असंवैधानिक भएको उल्लेख गर्दै माग पूरा नभए आन्दोलन चर्काउने चेतावनी दिए।





