बाँके, खजुरा — बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीले सेवा प्रणालीलाई आधुनिकीकरण गर्दै क्युआर कोडमार्फत सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था लागू गरेको छ। कार्यालयमा आउने पीडित तथा सेवाग्राहीको सुविधा लक्षित गर्दै प्रहरी कार्यालयले विभिन्न निवेदनका नमुनासहित ९ वटा अलग–अलग क्युआर कोड सार्वजनिक गरेको हो।


कार्यालय परिसरमै नि:शुल्क निवेदन लेख्ने सुविधा पनि उपलब्ध गराइएको छ। प्रविधिको ज्ञान भएका सेवाग्राहीका लागि आवश्यक निवेदनका नमुनाहरू कार्यालयको मुख्य गेटमै राखिएको क्युआर कोडमार्फत भेट्टाउन सकिने इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ।
प्रहरीका अनुसार क्युआर कोड प्रणाली लागू भएपछि नागरिकका गुनासा तथा समस्याको छिटो, प्रभावकारी र व्यवस्थित समाधान सम्भव हुने अपेक्षा गरिएको छ। पहिले परम्परागत तरिकाबाट सेवा दिंदै आएकोमा अब डिजिटल पहुँच बढेसँगै समय बचत हुने, सेवा प्रवाह द्रुत हुने र नागरिकमैत्री वातावरण बन्ने उनको विश्वास छ।
धनौली प्रहरीले सेवाग्राहीले पठाएका उजुरी तथा समस्याहरूलाई क्युआर प्रणालीमार्फत नै वर्गीकरण गरी तत्काल आवश्यकताअनुसार सम्बोधन गरिने बताएको छ। साथै उजुरी कार्यान्वयनको स्थिति सम्बन्धी जानकारी पनि उजुरीकर्तालाई सोही प्रणालीमार्फत उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
प्रहरीले नागरिकका दैनन्दिन समस्या, पीरमर्का तथा आवश्यक निवेदनहरू सजिलै पठाउन छुट्टै क्युआर कोड पनि तयार गरेको छ। यससँगै प्रौद्योगिकीमैत्री सेवा विस्तार गर्दै धनौली प्रहरीले स्थानीयमै आधुनिक, पारदर्शी तथा प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य रहेको जनाएको छ।





