काठमाडौं। राजधानीमा नक्कली कागजात तयार गर्ने गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष सूचनाका आधारमा गरेको अपरेशनमा तीन जनालाई नियन्त्रणमा लिएको हो।


पक्राउ पर्नेमा गोरखा शहिद लखन गाउँपालिका–४ का ४५ वर्षीय अचल लामिछाने, सुर्खेत बिरेन्द्रनगर–७ का २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २१ वर्षीय सविन आले मगर रहेका छन्।
प्रहरीका अनुसार लामिछानेले सामाखुशी टाउनप्लानिङमा ‘ईजी सप’ नामक पसल सञ्चालन गर्दै आएका थिए। सोही पसलमार्फत एसईई सर्टिफिकेट, प्रहरी प्रतिवेदन, विभिन्न होटल तथा संस्थामा काम गरेको अनुभव पत्रलगायतका किर्ते कागजात तयार गर्दै आएको खुलेको छ।
आइतबार दिउँसो २ बजे खटिएको प्रहरी टोलीले पसलमा गरेको खानतलासीका क्रममा कम्प्युटरमा विभिन्न सरकारी तथा गैर–सरकारी कार्यालयका नक्कली कागजात फेला परेको प्रहरीले जनाएको छ। बरामद कम्प्युटर तथा सामग्री प्रहरी नियन्त्रणमा लिइएको छ।
तीनै जनामाथि थप अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिइएको प्रहरीले जनाएको छ।





