कोहलपुर । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पूर्वसन्ध्या आज, हिन्दु संस्कारअनुसार दर खाने दिन।
पछिल्लो समय चर्को विवाद तातिएको शब्द ‘दर’ लाई भद्दा मजाक गराएर चोक–चोकमा बसेर चिया पिउँदा पनि दर, रक्सी खाँदा पनि दर भनेर हल्का रूपमा लगेको ‘दर’ त्यति हल्का छैन। यसमा एउटा चेलीलाई माइती र माइतीघरकाले सम्झिने पर्वको रूपमा लिइन्छ।


सुरुवाती कालमा सानै उमेरमा कन्यादान गरि डाँडा कटाएर पठाएका छोरीहरूलाई घरमा बर्खे कामको चापले बेस्सरी थिचेको बेला एक–दुई दिन भए पनि माइतीघरमा बोलाएर मिठो–मसिनो, जस्तो हुन्छ, खुवाएर भोलिपल्ट भगवान् शिवको विशेष गीत गाएर माइतीघरका आफन्त, साथीहरूसँग रमाउँदै आफ्ना मनका पीडा पोख्दै, नाच्दै निराहार व्रत बसेर मनाउने र विशेष रूपमा दरलाई तीजको व्रत बस्नुअघि, अझै भनौँ भाद्र द्वितीय तिथिको रातीमा चोखो बनाएर खानुलाई दर भनिएता पनि पछिल्लो समय छोरी–चेली, महिला दिदीबहिनीहरू कामकाजी भएको र सबै चेलीबेटीका माइतीघर नजिक नपर्ने कारण पछिल्लो समय दरलाई व्यवस्थापन गर्दै कार्यालयले कर्मचारीलाई खुवाउने, साथी–साथी जम्मा भएर खाने गरि दर कार्यक्रम गर्न थालियो र यो अलिकति आलोचनामा पनि तानिएको देखिन्छ।
मेरो विचारमा तीजको दर जसरी खाए पनि, जसले खुवाए पनि, एउटा चेलीलाई माइतीघरमा बोलाएर खुवाएको दर विशेष हुन्छ जस्तो लाग्छ।
बाल्यकालको तीज त्यति याद छैन, तर जति याद छ, मेरो हजुरआमासँगको याद छ। सानोमा व्रत बस्ने रहर गर्दा आमालाई ‘यिनीहरू भोकाउँछन्, घिउ राखी सबै चोखो–मिठो पकाएर राखिदेऊ’ भन्दै बुहारीले गरिदिन्नन् कि नातिनीहरू भोकाउँछन् कि भन्ने सन्तापले आफैँ पकाउन कस्सिने मेरी हजुरआमा।
विवाहअघि होस् कि विवाहपछि, तीज भन्नासाथ हजुरआमाकै यादले छाती चिरिन्छ। हजुरआमाले यो संसार छोडेर गएको पनि पाँच वर्ष पूरा भयो। यो पाँच वर्षयता मेरो आफ्नै जिन्दगीमा पनि ठुलै उथलपुथल भयो। तर पनि तीजमा सधैँ हजुरआमाकै याद आयो। हजुरआमाको हातले पकाएको दर कुनै ठूलो पाँचतारे होटलको स्वाद हुँदैनथ्यो, तर पनि त्यही हातको दर खाएपछि तीज आउँथ्यो मेरो।
अहिलेको तीज, मेरो दर।
सायद यो पहिलो तीज होला, मैले कुनै अन्य ठाउँ र माइतीघरबिनाको दरमा तीज मनाउँदै छु। म जस्ता हजारौँ छोरी होलान्, जो माइतीघरको इच्छाविपरीत उनीहरूको जिन्दगीको सुरुवात हुँदा माइतीघरसँग नाता सकिने। ती छोरीहरू आज बिहानै याद आयो, किनभने एउटै कथामा बाँधिएर पो होला कि त?
हजारौँ छोरी होलान्, हो, वर्षौँदेखि माइतीघरमा पाइला राखेका छैनन् होलान्। कति चेली त जातीय विभेदका कारण माइतीले मरेको सम्झेर काजकिरिया गरेको पनि हामी सुन्छौँ। साच्चिकै ती छोरीहरूलाई माइतीको झल्को आउँदैन होला? तिनका माइतीलाई आफ्नी छोरी–चेलीको झल्को आउँदैन होला?
अरू बेला त जसोतसो सबैले आफ्नो दिन काटेकै हुन्छन्, तर चाडपर्वमा त जति बलियो मन पनि कुडिने रहेछ। ती माइतीलाई चेलीको याद आएर मन कत्ति कुडिएन होला???
यस्ता हजारौँ प्रश्न मनमा उब्जिए। हजुरआमाको यादमा बग्ने मेरा आँसु अरू बेला भन्दा बढीनै हुन्छन् तीजमा। के अब मेरो तीज र हजुरआमा हुँदासम्मको लागि मात्रै होला त? आमालाई उछिन्ने हजुरआमाको याद कति होलान् मेरा मनमा।
मेरो निजी निर्णयमा खुसी भएर मैले पुनः विवाह गरेपश्चात् मेरो माइतीघरसँग मेरो कुनै सम्बन्ध छैन। उहाँहरूलाई मेरो अवस्था जस्तोसुकै होस्, फरक पर्दैन। उहाँहरूको निर्णयविपरीत हुँदा टुटेका मेरा सम्बन्ध कमजोर छैनन्, तर अहिले बलिया भएर आएका छैनन्। तर पनि चेली त माइतीका भोका नै हुन्छन्। चेली जहाँ, जस्तो अवस्थामा भए पनि माइतीघरको सधैँ सफलता चाहन्छन्।
मेरो माइतीघर र मेरी जन्मदिने आमालाई आउँदै गरेको हरितालिका तीजको धेरै–धेरै शुभकामना।
नेपाली सम्पूर्ण चेली जहाँ, जस्तो अवस्थामा भए पनि खुसी मनले वर्ष दिनको पर्व मनाउनु। सधैँ समय एउटै कोल्टेमा हुँदैन। अवस्था, परिस्थिति परिवर्तन हुन्छ। खुसीमा भए पनि रम्नुहोस्, दुःखमा भए पनि रम्नुहोस्।
Happy Teej All ❤️
वीरङ्गना योगी शाही कोहलपुर–०६





