रौतहट — रौतहटको कटहरिया नगरपालिका–५ निवासी २८ वर्षीय पत्रकार रविन्द्र प्रजापतिले आत्महत्या गरेका छन्।
शनिबार राति आफ्नै घरको सुत्ने कोठामा झ्यालको रडमा पासो लगाई आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए।
प्रजापति कटहरिया बजारमा सञ्चालित म्युजिकल एफएममा समाचार वाचकका रूपमा कार्यरत थिए। प्रारम्भिक अनुसन्धान अनुसार, उनी घरेलु विवादका कारण मानसिक तनावमा रहेका थिए।


परिवारका सदस्यहरूले कोठाको ढोका फोडेर पासोको डोरी काटी तत्कालै गरुडास्थित ग्रान्डी अस्पताल पुर्याएका थिए। तर अस्पतालले उनलाई मृत घोषित गरेको डिएसपी कार्कीले बताए।
हाल मृतकको शव पोष्टमार्टमका लागि गौरस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ।





