रसुवा ।रसुवाको स्याफ्रुबेशी क्षेत्रबाट १९ लाख ५२ हजार रुपैयाँ नगदसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।


पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिका–३ निवासी ३५ वर्षीय मिङमार छिरिङ गुरुङ रहेका छन्।
प्रहरीका अनुसार शनिबार गोसाईकुण्ड गाउँपालिका–६ अन्तर्गत पर्ने पासाङ ल्हामु राजमार्गमा स्याफ्रुबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा गुरुङलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको थियो। जाँचका क्रममा उनको साथबाट १९ लाख ५२ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोस्ट धुन्चेका अनुसार बरामद रकममध्ये एक हजार दरका १ हजार ८४५ थान, पाँच सय दरका २१३ थान तथा एक सय दरका ६ थान नोट रहेका छन्।
बरामद नगदको स्रोत खुलाउन नसकेको र हुण्डी कारोबारसँग सम्बन्धित आशंका देखिएपछि गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनामा थप अनुसन्धानका लागि जिल्ला अदालत रसुवाबाट सात दिनको म्याद थप गरिएको छ। प्रहरीले हुण्डी कारोबारसम्बन्धी कसूरमा विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।





