जनकपुरधाम |प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासकझैं होइन, जनताको सेवकको भूमिकामा रहन स्पष्ट निर्देशन दिएका छन्।


जनकपुरधाममा मधेश प्रदेश प्रहरी कार्यालयको नवर्निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रहरीको भूमिका हाकिमको नभई सेवकको हुनुपर्ने बताए। उनले प्रहरीले कसैलाई जोरजबर्जस्ती फसाउने, यातना दिने वा झूठा मुद्दा लगाउने काम नगर्न चेतावनी दिए।
“राणा शासन तथा पञ्चायती व्यवस्थामा जस्तो झूटो आरोप लगाएर कसैलाई फसाउने प्रचलन अब समाप्त हुनुपर्छ,” ओलीले भने, “प्रहरीले न्यायोचित ढंगले, कानूनी प्रक्रिया अनुसार जनताको पक्षमा काम गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले हाल देशमा केही व्यक्तिहरू अराजकता फैलाउने र आफूलाई “नयाँ शक्ति”को भ्रममा पार्ने प्रयासमा लागेको टिप्पणी गर्दै भने, “यी तत्वहरूलाई समाज र राष्ट्रले चिनेर प्रतिकार गर्न जरुरी छ।”
उनले लोकतन्त्र ल्याउन योगदान नदिएका, तर झूठो बोल्दै समाजमा भ्रम फैलाउनेहरूलाई अब कानूनी र सामाजिक सजायको सामना गर्नुपर्ने बताएका छन्।
ओलीले नेपाली सेनाले राष्ट्रको सुरक्षा गरिरहेको बताए पनि प्रहरी संगठनले इमान्दारीपूर्वक जनताको सेवा र सुरक्षा गर्नुपर्नेमा जोड दिए।
देशमा बढ्दो अपराध, चोरी, डकैती, लागुऔषधको दुरुपयोग, सीमा क्षेत्रमा तस्करी, मानव ओसारपसार र राजस्व चुहावट जस्ता चुनौतीहरूलाई सम्बोधन गर्न प्रहरी संगठन गम्भीर र कडाभन्दा कडा रूपमा लाग्नुपर्ने उनको भनाइ थियो।
“नेपाल प्रहरीले आफ्नो दक्षता, इमान्दारी र कर्तव्यबोधमार्फत जनतामाझ विश्वसनीयता कायम गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले जोड दिए।





