कालिकोट, ५ साउन ।
कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ३ को वडा कार्यालयमा स्थानीय नागरिकहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष र वडा सचिव नियमानुसार कार्यालयमा उपस्थित नभई गैरजिम्मेवार बनेको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन्।
प्राप्त जानकारी अनुसार, वडा अध्यक्ष र वडा सचिव विगत ५–६ दिनदेखि नियमित रूपमा कार्यालयमा अनुपस्थित रहँदै आएका छन्। जनप्रतिनिधि र कर्मचारीको अनुपस्थितिका कारण वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा-सुविधा, नागरिकका दैनिक कामकाज, तथा सामाजिक सुरक्षा भत्ता नवीकरण जस्ता महत्त्वपूर्ण कार्यहरू पूर्ण रूपमा ठप्प बनेका छन्।
वडा कार्यालयमै हुनुपर्ने सिफारिस तथा प्रशासनिक कामका लागि सर्वसाधारण नागरिकहरू वडा अध्यक्षको घरसम्म धाउनुपर्ने र त्यहीँ पुगेर हस्ताक्षर गराउनुपर्ने बाध्यता सिर्जना भएको स्थानीयको आरोप छ।
सेवाग्राहीले पटक-पटक सास्ती भोग्नुपरेको र वडाको प्रशासनिक व्यवस्थापन अस्तव्यस्त बनेको भन्दै स्थानीय नागरिकहरूले संयुक्त रूपमा विरोध जनाएका छन्।







