
दाङ।घोराही उपमहानगरपालिका–२ रामपुरस्थित गंगा माध्यामिक विद्यालयमा लागू औषध दुर्व्यसन नियन्त्रण र साइबर सुरक्षा सम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।


समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरूप जिल्ला प्रहरी कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले सहभागी विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिनुभयो।
कार्यक्रममा उहाँले लागू औषध दुर्व्यसनका कारण समाजमा देखिएका अपराध प्रवृत्ति, बालबालिका त्यसतर्फ आकर्षित हुने अवस्था र कारण, दुर्व्यसनबाट बच्ने उपाय, लागू औषधसम्बन्धी कानूनी प्रावधान, नियन्त्रणमा विद्यार्थीको भूमिका लगायतका विषयमा प्रकाश पार्नुभयो।
त्यसैगरी सामाजिक सञ्जालको दुरुपयोगका कारण देखिने समस्या, सुरक्षित प्रयोगका तरिका, अनलाइन ठगी नियन्त्रण तथा सडक सुरक्षाबारे समेत जानकारी गराइएको थियो।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीय अभिभावकहरूको समेत सक्रिय सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।





