१६ चैत २०८२ काठमाडौं ;— नेपाल प्रहरी प्रधान कार्यालयको परिसर आज दिउँसो १ बजे असामान्य रूपमा सक्रिय थियो। औपचारिक निरीक्षणका लागि आएका गृहमन्त्री सुधन गुरुङले प्रहरीको सलामी ग्रहण गरे, विभिन्न शाखाको अवलोकन गरे, तर कार्यक्रमको मुख्य मोड आइजीपी दान बहादुर कार्कीको सम्बोधनपछि आयो।


आइजी कार्कीले प्रहरी संगठनभित्र बढ्दो जागिर छोड्ने समस्या, सेवा अवधि र पेन्सनको विषय उठाउँदै गर्दा एकाएक भावुक भए। ‘मेरो पुलिसलाई टिकाउन सकिनँ… यही नै समस्या हो,’ भन्दै उनको आवाज भारी बन्यो, आँखा रसाए। हलमा सन्नाटा छायो।
त्यही क्षण गृहमन्त्री गुरुङ आफैं सिटबाट उठे। उनले पहिले ताली बजाए, त्यसपछि हलमा उपस्थित सबै प्रहरीलाई उठ्न संकेत गर्दै भने— ‘समर्थन गर्नुस्।’
केही क्षणमै सम्पूर्ण हल तालीले गुञ्जियो। त्यो ताली औपचारिकता मात्र थिएन, समर्थन र पीडाको प्रतिध्वनि थियो। ताली सकिएपछि फेरि गहिरो सन्नाटा छायो, जसले त्यो क्षणलाई अझ अर्थपूर्ण बनायो।
यसअघि गृहमन्त्री गुरुङले आफ्नो सम्बोधनमा तल्ला तहका प्रहरीको अवस्था सम्झँदै भनेका थिए— ‘अब त्यो अवस्था बदलिन्छ।’ उनले सरकार, पार्टी वा गृह मन्त्रालयबाट अनावश्यक हस्तक्षेप नहुने स्पष्ट पार्दै ‘आफ्नै पार्टीका भए पनि नछोड्ने’ चेतावनी दिए।
प्रहरी–नागरिक सम्बन्धलाई ‘मामा–भान्जा’ जस्तो आत्मीय बनाउनुपर्ने, बढुवा र सरुवा कार्यसम्पादनकै आधारमा हुने, र VIP सवारीका कारण नागरिकले दुःख नपाउने व्यवस्था गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
गृहमन्त्रीको यो समर्थनपछि प्रहरी महानिरीक्षक कार्कीको भावुक क्षण सार्वजनिक भएको छ। संगठनभित्र देखिएको समस्या र त्यसप्रति मन्त्रीस्तरबाटै सहानुभूति देखिएपछि प्रहरी महानिरीक्षकको पीडाले अब ठोस निकास पाउने अपेक्षा गरिएको छ।





