संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदबारीभित्र दुई कैदीको हत्या भएको घटनामा अदालतले १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला अदालत संखुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता, २०७४ को दफा १७७(१) बमोजिम कसुर ठहर गर्दै १५ जना प्रतिवादीलाई जन्मकैदको फैसला गरेको हो।
२०८० साउन २४ गते कारागारभित्र संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो। घटनापछि गरिएको विभिन्न निकायको छानबिनले उनीहरूलाई सामूहिक रूपमा कुटपिट गर्दा मृत्यु भएको निष्कर्ष निकालेको थियो।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय विराटनगरका अनुसार शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका दुवै कैदीमाथि सुरुमा सुरक्षाकर्मी र त्यसपछि अन्य कैदीबन्दीले कुटपिट गरेका थिए। सोही कुटपिटका कारण उनीहरूको मृत्यु भएको आयोगको निष्कर्ष थियो।
घटनालगत्तै जिल्ला सुरक्षा समिति, प्रदेश प्रहरी कार्यालय तथा गृह मन्त्रालयले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए। ती सबै समितिले पनि सामूहिक कुटपिटकै कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष निकालेका थिए।
घटनापछि कारागारका सुरक्षाकर्मी र कैदीबन्दी गरी १५ जनाविरुद्ध हत्या अभियोगमा अनुसन्धान अघि बढाइएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता, २०७४ तथा अपराध पीडित संरक्षण ऐन, २०७५ अन्तर्गत मुद्दा दायर गर्दै सबै प्रतिवादीविरुद्ध जन्मकैदको मागदाबी गरेको थियो।
अदालतले फैसला सुनाउँदै मृतक विनोद तोलांगी र आकाश बलामीका नजिकका हकदारलाई प्रतिवादीहरूबाट जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए।
जन्मकैद सजाय पाउनेहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राई र चौकीदार राम कार्की रहेका छन्।
त्यसैगरी बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि अदालतले जन्मकैदको सजाय सुनाएको छ।







