ट्रेण्डिङ

 

काठमाडौं । नेपालमा हालसम्म सार्वजनिक भएका ठूला अवैध क्रिप्टो कारोबार प्रकरणमध्ये एक मानिएको ४ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न रहेको आरोप लागेका मुख्य अभियुक्त सागर गिरी पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनलाई बुधबार कारागार पठाइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नागार्जुन नगरपालिका–११ निवासी २९ वर्षीय गिरीलाई २०८२ चैत १ गते पक्राउ गरी करिब ९० दिनसम्म अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उनले नेतृत्व गरेको समूहले पछिल्लो तीन वर्षमा ४ अर्ब ३३ करोड ७० लाख ८० हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले यसलाई नेपालमा सञ्चालन भएको संगठित तथा व्यवस्थित अवैध क्रिप्टो नेटवर्कमध्ये एक प्रमुख प्रकरणका रूपमा लिएको छ।

यस मुद्दामा नागार्जुन–८ निवासी प्रमोद धिताललाई समेत पक्राउ गरी अनुसन्धान गरिएको थियो। अनुसन्धान पूरा भएपछि सरकारी वकिलको कार्यालयले असार १ गते १४ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो। अदालतले मुख्य अभियुक्त सागर गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ भने प्रमोद धिताल ६ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

अनुसन्धानका क्रममा सागर गिरीले आफू विगत तीन वर्षदेखि क्रिप्टो कारोबारमा सक्रिय रहेको स्वीकार गरेका छन्। प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिका बैंक खाता, डिजिटल वालेट तथा अनलाइन प्लेटफर्म प्रयोग गरी कारोबार विस्तार गरेका थिए। प्रहरी निरीक्षक पप्पु कुमार दास नेतृत्वको टोलीले बैंकिङ कारोबार, डिजिटल ट्रान्जेक्सन, मोबाइल डाटा तथा आर्थिक गतिविधिको विस्तृत अध्ययनपछि अर्बौं रुपैयाँ बराबरको कारोबार पुष्टि गरेको जनाएको छ।

अनुसन्धान प्रतिवेदनअनुसार गिरी र उनको समूहले विदेशी डिजिटल मुद्रालाई नेपाली रुपैयाँमा रूपान्तरण गर्ने, विभिन्न खातामार्फत रकम घुमाउने तथा पुनः क्रिप्टोमा लगानी गर्ने कार्य गर्दै आएको देखिएको छ। प्रहरीका अनुसार यो कारोबार व्यक्तिगत स्तरको नभई संगठित नेटवर्कमार्फत सञ्चालन भइरहेको थियो।

प्रहरी अनुसन्धानले अवैध क्रिप्टो कारोबारबाट प्राप्त रकम विभिन्न क्षेत्रमा लगानी गरिएको तथ्यसमेत उजागर गरेको छ। गिरीले उक्त रकमबाट ट्याक्सी तथा स्कोर्पियो खरिद गरी भाडामा सञ्चालन गरेका थिए। साथै उनका आमा–बुवाको नाममा घर नजिकै ‘नर्सरी खाजा घर तथा रेस्टुरेन्ट’ सञ्चालन गरिएको भेटिएको छ। यद्यपि बयानका क्रममा गिरीले उक्त रेस्टुरेन्ट आफूले नभई आफ्ना बुबाआमाले सञ्चालन गरिरहेको बताएका छन्।

प्रहरीले फेला पारेको विवरणअनुसार गिरीकी आमाको नाममा रहेको ट्याक्सी प्रमोद धितालले चलाउने गरेका थिए। धितालले दैनिक तीन हजार पाँच सय रुपैयाँ भाडा सागरको परिवारलाई बुझाउने गरेको बयान दिएका छन्। त्यस्तै सागर स्वयंले स्कोर्पियो सञ्चालन गरी अतिरिक्त आम्दानी गरिरहेको खुलाएका छन्।

प्रहरीले घरमा छापा मार्ने क्रममा सागर गिरीको निवासबाट १ करोड १६ लाख रुपैयाँ नगद बरामद गरेको थियो। उक्त रकम घरमै किन राखिएको थियो भन्ने प्रश्नमा उनले बैंकिङ प्रणालीप्रति विश्वास कम भएकाले नगद घरमै राख्ने गरेको बताएका छन्। यद्यपि प्रहरी स्रोतका अनुसार उक्त रकमको स्रोत तथा कारोबारसँगको सम्बन्धबारे थप अनुसन्धान गरिएको थियो।

यस प्रकरणमा थप चासोको विषय बनेको अर्को तथ्य भनेको गिरीको घरबाट बरामद भएको नोट गन्ने ‘क्यास टेलर’ मेशिन हो। गिरीले उक्त मेशिन रेस्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्न सक्ने सोचेर खरिद गरेको दाबी गरेका छन्। तर अनुसन्धान अधिकारीहरूले ठूलो परिमाणको नगद कारोबार व्यवस्थापन गर्न उक्त उपकरण प्रयोग गरिएको हुनसक्ने आशंका गरेका छन्।

अनुसन्धान प्रतिवेदनअनुसार गिरीले Binance, MEXC तथा Trust Wallet लगायतका अन्तर्राष्ट्रिय क्रिप्टो प्लेटफर्म प्रयोग गरी कारोबार सञ्चालन गरेका थिए। प्रहरीका अनुसार सागर गिरी र प्रमोद धितालका खाताबाट मात्र करिब १ अर्ब ९७ करोड रुपैयाँ बराबरको USDT कारोबार भएको देखिएको छ। बाँकी रकम भने अन्य व्यक्तिका बैंक खाता, डिजिटल वालेट तथा वित्तीय माध्यममार्फत सञ्चालन भएको अनुसन्धानबाट खुलेको छ।

सरकारी वकिलको कार्यालयले यो मुद्दामा कुल १४ जनालाई प्रतिवादी बनाएको छ। तीमध्ये १२ जना अझै फरार रहेका छन्। फरार प्रतिवादीहरूमा रुपन्देहीकी निलम गुप्ता, मोरङकी सम्झना चौधरी, बाँकेका विनोद साहु, बाराका फिरोज अहमद मिया ठकुराई, रुपन्देहीका अक्षय कलवार, झापाका विशाल ठाकुर, काभ्रेका सिद्धार्थ भारती, सर्लाहीका पपु साह, गुल्मीका प्रितम कार्की, नवलपरासी पूर्वकी सजिना गिरी, लमजुङका उज्वल गुरुङ तथा नागार्जुनकी गंगा गिरी रहेका छन्। प्रहरीले उनीहरूको खोजी कार्य जारी रहेको जनाएको छ।

यस प्रकरणमा प्रतिवादीहरूमाथि अभौतिक मुद्रा (क्रिप्टो) कारोबारसम्बन्धी कसुरका साथै सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी आरोपसमेत लगाइएको छ। अनुसन्धानबाट अवैध रूपमा आर्जित रकम विभिन्न व्यवसाय, सवारीसाधन तथा अन्य सम्पत्तिमा लगानी गरिएको देखिएकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था पनि आकर्षित भएको प्रहरी र सरकारी वकिलको निष्कर्ष छ।

नेपाल राष्ट्र बैंकले हालसम्म क्रिप्टोकरेन्सी कारोबारलाई कानुनी मान्यता दिएको छैन। विदेशी मुद्रा व्यवस्थापन तथा वित्तीय प्रणालीको सुरक्षालाई ध्यानमा राख्दै नेपालमा क्रिप्टो कारोबार निषेध गरिएको छ। तर पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म तथा अन्तर्राष्ट्रिय एक्सचेन्जमार्फत नेपाली युवाहरूको क्रिप्टो कारोबारप्रति आकर्षण बढ्दै गएको देखिन्छ। ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार खुलेको यो प्रकरणलाई नेपालमा आर्थिक अपराध, डिजिटल वित्तीय प्रणाली तथा सम्पत्ति शुद्धीकरण अनुसन्धानका दृष्टिले महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सम्पर्क जानकारी
Surakshya Rastriya Dainik Media Pvt. Ltd. | दर्ता नं.: 4290-2080/2081 | Banke | +977 9768462390 | surakshyarastriyadainik@gmail.com | विज्ञापन: marketing@surakshyarastriyadainik.com
हाम्रो टोली
प्रधान सम्पादक
सुरेश शाही
अध्यक्ष
सुर्य तिवारी
प्रमुख कार्यकारी
अपडेट हुँदै छ...
सम्पादक
अपडेट हुँदै छ...
निर्देशक
अपडेट हुँदै छ...
Copyright © 2026 Surakshyarastriyadainik Media Pvt. Ltd. All Rights Reserved.
Design & Developed by: E-Imagine Infotech